चितवन । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले आइतबार भरतपुरमा सञ्चारकर्मीलाई डेंगी रोग सम्बन्धि अभिमुखीकरण गरेको छ । मनसुनको सक्रियतासँगै डेंगीका बिरामी देखा पर्ने क्रम सुरु भएपछि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्य प्रमुख दीपक सुवेदीले पानी परेपछि डेंगीका अस्पतालमा बिरामी बढ्दै गरेको पाइएको बताए । उनले चितवनको वातावरण डेंगी फैलाउने एडिज् प्रजातिको लामखुट्टेका लागि अनुकूल भएको जानकारी दिए । डेंगीबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नु पर्ने उनको भनाइ थियो ।
डेंगी फैलाउने लामखुट्टे सफा पानीमा बस्ने र अण्डा पार्ने भएकोले घर वरपर पानी जम्न नदिनेतर्फ सजग हुनुपर्ने उनले बताए । एउटै लामखुट्टेले पनि एकभन्दा बढी व्यक्तिलाई डेंगी सार्न सक्ने भएकोले डेंगी ज्वरो महामारीका रुपमा देखा पर्ने गरेको उनको भना । जमेको पानीमा डढेको मोबिल र मट्टितेल छर्केमा लामखुट्टेका लार्भा मर्ने बताउँदै सुवेदीले सार्वजनिक स्थलमा लामखुट्टे नियन्त्रणको काम महानगरले गर्नुपर्ने बताए ।
डेंगीबारेको आफ्नो प्रस्तुतिका क्रममा कार्यक्रम संयोजक केशव भट्टले हिजो (असार १५ गते) मात्रै इच्छाकामना गाउँपालिकामा ११ जनामा डेंगी देखा परेको जानकारी दिए । उनले सञ्चारकर्मीलाई डेंगी ज्वरोको परिचय, इतिहास, विकासक्रम, तथ्यांक, लक्षणहरु, रोकथाम तथा व्यवस्थापन एवं स्वास्थ्यकर्मी र सञ्चारकर्मीको भूमिकाबारे जानकारी गराएका थिए । उनका अनुसार लामखुट्टेको एडिज् एजिप्टी र एडिज् एल्बोपिक्टर्स प्रजातिले डेंगी सार्छन् । डेंगी सार्ने लामखुट्टेले सामान्यतयाः उज्यालो समयमा मानिसलाई टोक्ने गरेको उनले बताए ।