काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २३औँ वार्षिक उत्सव सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कलेजको २३औँ वार्षिकोत्सव सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरिने मदन भण्डारी मेमोलियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख अधिकारीका अनुसार असार ९ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रम आयोजना गरिनेछ, जसअन्तर्गत असार ९ गते लाइभ पेन्टिङ प्रतियोगिता, १० गते धोबी खोला करिडोर दायाँबायाँ सरसफाइ, उपत्यका ट्राफिक व्यवस्थापन कार्यालय र काठमाडौँ महानगरपालिका १० वडासँगको सहकार्यमा ट्राफिक जनचेतना कार्यक्रम, असार ११ गते अभिभावकसँग भेला र विद्यार्थी विदेश पलायन विषयक छलफल कार्यक्रम र ऊर्जा ध्यान शिविर राखिएको छ ।
असार १२ गते लायन्स क्लब अफल काठमाडूको सहकार्यमा स्वास्थ्य शिविर–रक्तदान कार्यक्रम, मधुमेह, मिर्गौला, दाँत तथा आँखा परीक्षण र ‘सामाजिक सञ्जालमा महिला हिंसा: समस्या र समाधान’ विषयक छलफल कार्यक्रम, असार १३ गते ज्येष्ठ नागरिकहरूलाई कपडा तथा फलफूल वितरण तथा वर्तमान पाठ्यक्रम र प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो ।
असार १४ गते कलेज प्राङ्गणमै वार्षिक उत्सव समारोह आयोजना गरिने क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कलेजको २३औँ वार्षिक उत्सव समारोह कलेज प्राङ्गणमा बिहान ८ बजेदेखि सुरु हुनेछ। जसमा बिहान १० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्नेछौँ।”
उहाँका अनुसार वार्षिक कलेजको मुख्य कार्यक्रम २३औँ वार्षिक उत्सव भने ११ बजेदेखि १ बजेसम्म हुनेछ, जसमा शुभकामना मन्तव्य, ५ जना विद्यार्थीलाई स्वर्णपदक, वर्ष विद्यार्थी सम्मान, कलेजको वार्षिक प्रकाशन श्वेत शार्दूल अङ्क २० को विमोचन, ४ जना उत्कृष्ट शिक्षक एवम् कर्मचारी घोषणा, कलेजको नयाँ प्रकाशन ई–बुलेटिन अनावरण र वाटिका उद्घाटन गर्नुका साथै स्काउट ट्रुपको पनि शुभारम्भ गरिनेछ ।
होमग्राउण्ड फिलोसोफी कार्यक्रम र ग्र्याण्ड ग्र्याजुएशन सेरेमोनी गर्ने तयारी
मदन भण्डारी मेमोरियल कलेजले निकट भविष्यमै होमग्राउण्ड फिलोसोफी कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
क्याम्पस प्रमुख डा.अधिकारीका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज), बिपी कोइरालाले प्रतिपादन गरेको समाजवादलगायतका विषयहरूमा आफ्नै कलेजमा थप अनुसन्धान गरिनेछ ।
यस्तै,क्याम्पसमा एमआईटी, बीआईटी, कानुन र एमफिलका कक्षाहरू चाँडै नै सञ्चालनमा ल्याउने तयारी भइरहेको क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो ।