पेरिस ।एक वातावरणीय दबाब समूहले बुधबार हवाई माल ढुवानी उद्योगको बढ्दो उत्सर्जनको निन्दा गरेको छ । यो विश्वव्यापी आपूर्ति शृङ्खला कठिनाइ र बढ्दो अनलाइन वाणिज्यले बढेको छ ।
युएस–क्यानेडियन समूह स्ट्यान्ड अर्थका अनुसार सन् २०१९ यता हवाई माल ढुवानी क्षेत्रबाट हुने प्रदूषण २५ प्रतिशतले बढेको छ ।
समूहको प्रतिवेदनमा कोभिड–१९ महामारीले यात्रा प्रतिबन्ध र आपूर्ति शृङ्खला अवरोधका कारण भएको बजार विकृतिले हवाई माल ढुवानी क्षेत्रलाई बढावा दिएको उल्लेख छ ।
“कोभिड–१९ महामारीभन्दा पहिले तार्किकरूपमा नाश हुने सामानहरू, समय–संवेदनशील डेलिभरी र विलासिता वस्तुहरू हवाई माल ढुवानीमाथि हावी थिए”, प्रतिवेदनमा भनिएको छ ।
महामारीले उद्योगहरूलाई विभिन्न प्रकारका सामानहरू ढुवानी गर्न हवाई माल ढुवानीमा सार्न बाध्य तुल्यायो ।
अमेरिकी वाणिज्य विभागको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा अनलाइन व्यापार व्यापकरूपमा बढेको छ । यो सन् २०१९ मा चार सय २१ खर्ब डलरबाट बढेर सन् २०२३ मा चार सय ३६ खर्ब डलर पुगेको छ ।
समूहले आफ्नो प्रतिवेदनमा विशेष हवाई माल ढुवानी फर्महरूलाई लक्षित गर्दा तिनीहरूले बजारको आधा हिस्सा मात्र ओगटेको र बाँकी हिस्सा वाणिज्यिक एयरलाइन्सहरूले यात्रु उडानहरूमा लिएको बताएको छ ।
वायुसेवा व्यापार सङ्घ आइएटीएका अनुसार सन् २०१९ को तुलनामा सात दशमलव छ प्रतिशतले बढेर यो वर्ष छ करोड २० लाख टन हवाई माल ढुवानी हुने अपेक्षा गरिएको छ । रासस